मेरो जिम्मेवारी नेपालमै नयाँ अभ्यास, नेपाली सेना भाग्यमानी : ईश्वर पोखरेल

काठमाडौं, असोज २९ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको बताएका छन् । रक्षा मन्त्रालयबाट विदाइ भएर प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहणपछि राखिएको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले नयाँ अभ्यास अमूर्त नहुने बताए ।

‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः यो नेपालको मन्त्रिपरिषद्मा नौलो अभ्यास हो’, उनले भने । औपचारिकता निर्वाह गर्नु मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको उनले बताए ।

‘गन्थन र गुनासोमा मात्रै अल्मलनु हुन्न । अमूर्त कुरा गर्ने मात्रै होइन, स्टक्चरमै देखिने गरी काम गर्नुपर्छ । म त्यसैका लागि यहाँ आएको हुँ’, पोखरेलको भनाइ थियो । प्रधानमन्त्री कार्यालयको राम्रो कार्यक्रम पनि नारामा सीमित भएको संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले अब त्यस्तो नहुने बताए ।

‘लोकप्रिय कार्यक्रम हेलो सरकार गर्दैछ के ? ढलकढलक ११/१२ बजेतिर आउने अनि चार÷पाँच नबज्दै फर्कने काम भइरहेको छ’, मन्त्री पोखरेलले उदाहरण दिए । तर, अब त्यसरी नहुने र कामबाटै जनतालाई जवाफ दिनुपर्ने मन्त्री पोखरेलले बताए ।

आफूले हेर्ने क्षेत्रहरु लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतको फेहरिस्त पनि मन्त्री पोखरेलले मन्तव्यका कार्यक्रममा राखेका थिए ।

‘नेपाली सेना भाग्यमानी’

प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहण अगाडि उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयमा विदाइ कार्यक्रम राखिएको थियो । विदाइ कार्यक्रममा पनि पोखरेलले संक्षिप्त मन्तव्य राखेका थिए ।

रक्षा सचिव रेश्मीराज पाण्डेले उपप्रधानमन्त्री पोखरेलको कार्यकालको समीक्षा प्रस्तुत गरेपछि मन्त्री पोखरेलले अब रक्षा मन्त्रालय प्रधानमन्त्रीले हेर्ने जानकारी दिए । ‘यो सरकारले यो मन्त्रालयलाई कति प्राथमिकतामा राखेको छ भन्ने यो प्रमाण पनि हो’, उपप्रधानमन्त्री पोखरेलले भने ।

उनले नेपाली सेना भाग्यमानी भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीले नै यो मन्त्रालयको नेतृत्व गर्नु हुन्छ । नेपाली सेना कति भाग्यमानी’, पोखरेलले भने । राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको थियो । – अनलाइनखबरबाट

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

 

 

प्रकाशित मिति October 15, 2020
Loading...