सांसदको मात्रै दसैं भत्ता काट्ने विषय मान्य हुँदैन : लालबाबु पण्डित

काठमाडौं, कार्तिक ३ । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गर्नु राम्रो नहुने बताएका छन् ।

सांसदको भत्ता कटौती गर्ने भए सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको कटौती गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकारी सेवा सुविधा लिने, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी, पत्रकार, अन्य राष्ट्रयसेवक जो-जो छन्, सबैको कटौती गरौं र कोरोना कोषमा हालौं । यो निर्णयमा सबै सहमत हुन्छन् भने म सबैभन्दा अगाडि हुन्छु’ पण्डितले भने ।

अन्यथा, सांसदको मात्रै दसैं भत्ता काट्ने विषय आफूलाई मान्य नहुने उनले बताएका छन् । ‘सरकारी सेवा सुविधा लिने जति छन्, सबैले पाउने, निजी उद्योगधन्दाले दसैं भत्ता दिने, जनप्रतिनिधिलाई किन नदिने ?’ पूर्वमन्त्री पण्डितको प्रश्न छ, ‘जनप्रतिनिधि अ पराधी हुने, अरु निरपराधी हुने ?’

यिनै विषयमा नेकपा नेता पण्डितसँग गरिएको छोटो कुराकानी :

सांसदको दसैं भत्ताबारे तपाईंको धारणा के छ ?

अहिले सांसदलाई स्पेशल दसैं भत्ता दिएको होइन । राज्यले जे काट्ने हो, त्यो काटिहाल्छ । अर्कोतर्फ, जनता सबैभन्दा बढी जनप्रतिनिधिहरुसँग नै आश गर्छन् । दसौं जना पत्रकारले पनि फोन गरिसक्नुभयो- दसैं आयो, खर्च चाहियो भन्छन् । म निर्वाचन क्षेत्र पुगेर भर्खरै आएको छु, बिरामीहरुलाई खर्च दिएर ।

बुझ्नुपर्ने अर्को कुरा, सबै जनप्रतिनिधि एउटै स्तरका छैनन् । विनोद चौधरी र लालबाबु पण्डित दुवै जनप्रतिनिधि हुन् । एकैरुपमा तुलना गर्नुभयो भने जनप्रतिनिधिहरु अब ठूला-ठूला उद्योगपति, ठूला ठूला ठेकेदार र ठूला ठूला तस्करमात्रै जनप्रतिनिधि हुने भन्नुपर्ने हुन्छ ।

तर, पत्रकारहरुले सबैलाई एकै डालोमा हालेर आफ्नो मिडियामा, पत्रिकामा जनप्रतिधिहरुलाई ब दनाम गर्ने गरी जुन अभियान चलाइएको छ, त्यो दुर्भाग्यपूर्ण छ । त्यही पत्रिकाले हो ६ वटा गाडी लिएर हिँड्छ लालबाबु पण्डित भनेर लेख्ने । लालबाबु पण्डितसँग गाडी छ ? लालबाबु पण्डितसँग घर छ ? म मोटरसाइकलमा हिँडिरहेको छु ।

त्यसकारण मलाई लाग्छ, जनप्रतिनिधिलाई बदनाम गरेर लोकतन्त्र, गणतन्त्र सुदृढ हुँदैन । अ पराध गरेको छ भने अ पराधलाई द ण्डित गर्नुपर्छ । तर, यहाँ व्यवस्थाविरुद्ध नै जाने गरी जुन अभियान चलाउन खोजिएको छ, जनप्रतिनिधिलाई ब दनाम गरेर त्यो ठीक भइरहेको छैन् ।

सरकारी सुविधा लिने अरुहरु पनि छन् । जनप्रतिनिधिकै सुविधा किन घरिघरि विवादमा आएको होला ?

छन् । सरकारी सुविधा लिने धेरै छन् । पत्रकारले दसैं भत्ता पाउँछ कि पाउँदैन ? पत्रकारलाई दिने, सरकारी सेवासुविधा लिने जति छन्, सबैले पाउने, निजी उद्योग धन्दाले पनि दसैं भत्ता दिने, जनप्रतिनिधिलाई किन नदिने ? जनप्रतिनिधि अ पराधी हुने, अरु निरपराधी हुने ?

उसोभए सबैको काटौं । ‘सरकारी सेवा सुविधा लिने, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी, पत्रकार, अन्य राष्ट्रयसेवक जो-जो छन्, सबैको कटौती गरौं र कोरोना कोषमा हालौं । यो निर्णयमा सबै सहमत हुन्छन् भने म सबैभन्दा अगाडि हुन्छु ।

यसो गरियो भने शिक्षकको दसैं भत्ता काटिन्छ । आर्मी, पुलिस, स्वास्थ्यकर्मी, उद्योगमा काम गर्ने मजदुर र पत्रकारहरु सबै जोडिन्छन्, सबैको भत्ता काटिन्छ । यो मेरो प्रस्ताव हो ल ।

सरकारी सेवा सुविधा लिने र जनप्रतिनिधि भनेका फरक हुन् । सांसदले कर्मचारीको भत्ता काट्ने भन्न मिल्छ ?

सांसद राष्ट्रसेवक हुन् । कर्मचारी पनि राष्ट्रसेवक हुन् । कर्मचारीले सरकारको निर्णय र ऐन कानुन मान्नुपर्छ । सांसदले संविधान र ऐन कानुनलाई मान्नुपर्छ । त्यसकारण विपरीत केही कुरा भएको छ भने, अ पराधपूर्ण कुरा भएको छ भने त्यसलाई लिएर दण्डित गर्नुपर्छ ।

तर, जनप्रतिनिधिहरुले ऐन कानुनले दिएको सेवा सुविधा लिन हुँदैन भन्ने हो भने त सरकारी तहमा रहेकाहरुले पनि लिन सेवा सुविधा लिन हुँदैन । किनभने, त्यही ऐन मान्ने हो । सरकारको निर्णय नै मान्ने हो नि ।

सांसदहरुलाई दसैँ भत्ता दिने मन्त्रिपरिषदले अघिल्लो आर्थिक वर्षका लागि गरेको निर्णय हो । यो वर्ष निर्णय नै भएको छैन, नजिर मानेर भत्ता लिनु नीतिगत भ्रष्टाचार होइन ?

मन्त्रिपरिषदले गरेको निर्णय गलत छ, कानुनसम्मत छैन भने असुलउपर हुन्छ । गलत निर्णय भएर पाएको त निजामतिको भए पनि, प्राध्यापकको भए पनि, शिक्षकको भए पनि सबैको असुलउपर भइहाल्छ ।

सांसदको सुविधासम्बन्धी ऐनमा दसैँ भत्ताको विषयलाई नराख्दा अहिले प्रश्न उठेको हो । अघिल्लो वर्ष मन्त्रिपरिषदले निर्णय गर्नुपरेको पनि यही कारणले होला । अब ऐन नै संशोधन गर्न पहल गरौं जस्तो लागेको छैन ?

यो विषय ऐन संशोधन गर्नेबेलामा गर्ने छलफल हो । अहिले त्यो ऐनमाथि छलफल नभएकाले गर्दा पछि हुने, वा त्यतिखेर हुने कुरा अहिले भन्न मिलेन । – यो खबर अनलाइनखबरबाट साभार गरिएको हो ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 19, 2020
Loading...