भक्तपुर, कार्तिक ०५ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अबको १० वर्षमा नीजि (संस्थागत) विद्यालय बन्द हुने बताएका छन् ।
वडा नम्बर ६, गड्गडेस्थित चुनादेवी माविको नयाँ निर्माण हुने भवनको बुधबार शिल्यान्यास गर्दै उनले भने, ‘मैले नीजि विद्यालयका सञ्चालकहरु समक्ष भनेको छु अब दश वर्षमा तपाईको स्कुल बन्द हुन्छ ।’
नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न, विद्यार्थी संख्या बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकाले क्रमशः विद्यार्थी नीजि विद्यालय छाडेर सामुदायिकमा आउने नगरप्रमुख मिश्रको विश्वास छ । गुणस्तर बनेको अग्लो र ठुलो भवन हैन भन्दै मिश्रले त्यसका लागि सञ्चालक समिति, प्रअ, शिक्षक, अभिभावक सबै एकसाथ मिलेर सामुदायिक विद्यालय राम्रो बनाउन लाग्नुपर्ने उनको भनाई छ ।
‘चाँगुनारायणमा छोरीहरुले स्कुल जान नछोडुन् भनेर ‘छोरीको बचत खाता’ कार्यक्रम सुरु गरिएको छ’ नगरप्रमुख मिश्रले भने । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सन्ते वाइवा, व्यवस्थापन समितिका विष्णु तामाङ्ग, विद्यालयकी प्रधानाध्यापक नानुमैयाँ गिरीलगायतले सबैले मिलेर नै सामुदायिक विद्यालयलाई आर्कषक बनाउन लाग्नु पर्ने बताएका छन् ।
उक्त नयाँ निमार्ण हुने भवनका लागि नेपाल सरकारको १७.६ प्रतिशत, वैदेशिक ऋण ७४.९ प्रतिशत र वैदेशिक सहायता ७.५ प्रतिशत रकम लगानि हुनेछ । मूल्य अभिबृद्धि करबाहेक ३ करोड १८ लाख ४१ हजार ६ सय ७४ रुपैयाँमा २ तल्ले ९ कोठाको भवन निर्माण हुने जानकारी विद्यालयले दिएको छ ।
शर्मा–खानी जेभीले निर्माणको जिम्मेवारी पाएको उक्त भवन २०७८ साल माघ २६ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।
काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।
प्रकाशित मिति October 21, 2020