प्रधानमन्त्रीलाई उद्योगमन्त्री भट्ट भन्दा राज्यमन्त्री दुगड प्यारो

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र प्रधानमन्त्री केपी ओलीबीच अविश्वास पैदा भएको छ ।

सरकारका काम कारवाहीप्रति पार्टीले प्रश्न उठाउँदै प्रधानमन्त्रीको राजीनामा मगिएका बेला प्रम ओलीको बचाउमा उत्रेका मन्त्री भट्टप्रति पछिल्लो समय प्रधानमन्त्री ओलीले विश्वास गर्न छोडेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालयका काम समेत प्रम ओलीले भट्टलाई छोडेर राज्यमन्त्री दुगडमार्फत गराउन थालेका छन् । गत बैशाखमा बहुमत स्थायी समिति सदस्यहरुले प्रम ओलीको राजीनामा माग्दा भट्टले ओलीको बचाउ गर्दै उनको राजीनामाको विपक्षमा अभिव्यक्ति दिएका थिए ।

पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी भैरहँदा मन्त्री भट्टले भने प्रधानमन्त्री ओलीको विकल्प खोजिए मुलुकमा दुर्घटना हुने चेतावनी नै दिएका थिए । भट्ट त्यसअघि अर्का अध्यक्ष दाहालका विश्वासपात्रको रुपमा चिनिन्थे ।                                                                         

‘मन्त्री भट्ट भन्दा पनि राज्यमन्त्री दुगड प्रधानमन्त्रीका लागि नजिक हुनुहुन्छ । मन्त्रालयको काम पनि अहिले त राज्यमन्त्री दुगडकै निर्देशनमा हुने मात्रै होइन, कुनै कर्मचारीकोे सरुवा बढुवामा पनि दुगडकै हालीमुहाली हुने गरेको छ’ मन्त्रालयका एक कर्मचारीको भनाइ छ ।

मन्त्री भट्टले मन्त्री तथा मन्त्रालयमा नियुक्ति र बढुवाका लागि केही नाम सिफारिस गरेपनि ओलीले अस्वीकार गरेका छन् । गत साता रिक्त पदमा मन्त्री नियुक्ति तथा हेरफेरको तयारीमा जुटेका ओलीलाई भट्टले केही नाम दिएका थिए । तर, प्रधानमन्त्री ओलीले भट्टको सूचीलाई अस्वीकार गरेका थिए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 22, 2020