ललितपुरमा साइकल लेन : महानगर र सडक विभागबीच विवाद

ललितपुर, कात्तिक ७ । ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन ।

महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण सुरु गरेको हो । सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गरे ।

सडक विभागले भने महानगरपालिकाले आफूूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताए ।

उनले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पार्नुभयो । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 23, 2020