भारतीय सेनाध्यक्ष नरभाने कार्तिक १९ गते नेपाल आउने

एजेन्सी । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ । नरभाने तीन दिने नेपाल भ्रमणका लागि आगामी नोभेम्बर ४ तारिख अर्थात कार्तिक १९ गते आउन लागेका हुन ।

दुई देशका अधिकारीको संयुक्त बैठकले नरभानेको भ्रमणको मितिलाई औपचारिक टुंगो लगाएको हो । नरभानेको नेपाल भ्रमणको मिति भारतीय पक्षले नै तोकेको हो । भारतीय पक्षले तय गरेको मितिलाई नै आज बसेको बैठकले औपचारिकता दिएको हो । गत माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले नरभानेको नेपाल भ्रमण स्वीकृत गरेको थियो ।

दुई देशबीचको सीमा विवाद तथा को रोना भा इरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यसअघि नरभानेको नेपाल भ्रमण स्थगित भएको थियो । नेपाली सेनाले गत असोज २८ गते नरभाने कार्तिक महिनामा नेपाल भ्रमणमा आउनु हुने जानकारी दिएको थियो । नरभानेले गत डिसेम्बर ३१ तारिखमा भारतीय सेनाको सर्वोच्च पदको कार्यभार सम्हाल्नुभएको हो ।   

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । सो बेला नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै वि’वादास्पद अभिव्यक्ति दिएका थिए । नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो ।

यसअघि कार्तिक ५ गते भारतीय बाह्य गुप्तचर विभाग रिर्सच एण्ड एनालाइसिस विङ रअ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुभएको थियो । गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्नुभएको थियो । कूटनीतिक मर्यादा नाघेर प्रधानमन्त्री ओालीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग भेट गरेको भन्दै अहिले पनि चर्को विरोध भैरहेको छ ।

भारतीय सेना प्रमुखको नेपाल भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक कुराकानी हुने अपेक्षा गरिएको छ । नेपाल भ्रमणका क्रमममा नरभानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।       

नेपाल र भारत दुबै देशका सेना प्रमुखलाई एक अर्काको देशमा मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रारत भ्रमणको क्रममा २०७५ पुस २९ गते मानार्थ भारतीय सेना प्रमुखको सम्मान ग्रहण गरिसकेका छन ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति October 27, 2020
Loading...