अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी, को हुन् ७८ वर्षीय बाइडेन ?

एजेन्सी : जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपति बनेका हुन् ।

महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडेनले जित हात पारेका छन् । जसले बाइडेनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल कलेज भोटको आंकडा पार भएको छ ।

राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम घोषणा हुन बाँकी छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ । निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।

अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन को हुन् ?

जो बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सलभेनियाको स्क्रान्टनमा भएको थियो । उनका बुबा कार बिक्रेता थिए । ५० को दशकमा रोजगारी गुमेपछि उनका बुबा आफ्नो परिवार लिएर छिमेकी राज्य डेलावेयर बसाइँ सरे त्यसबेला बाइडेन १० वर्षका थिए । बाल्यकाल डेलावेयरमा बिताएका बाइडेनले सन् १९६५ मा युनिभर्सिटी अफ डेलावेयरबाट स्नातक उत्तीर्ण गरे । सन् १९६६ मा निलिया हन्टरसँग उनको विवाह भएको थियो । बाइडेन दम्पत्तिबाट तीन सन्तान जन्मिए ।

अध्ययनका लागि न्युयोर्क गएका उनी सिराक्युज युनिभर्सिटीबाट कानूनमा डिग्री लिएका थिए । अध्ययनपछि वकिलका रुपमा काम गर्न डेलावेयर फर्केका उनी त्यतीबेलै देखि नै राजनीतिमा लागेका थिए । न्यु क्यासल काउन्टी परिषदमा १९७० देखि १९७२ सम्म उनले काम समेत गरेका छन् । १९७२ मा २९ वर्षको उमेरमा उनी अमेरिकी सिनेटर चुनिएका थिए ।

त्यसको एक महिना नबित्दै एउटा दुर्घटनामा परी उनकी पत्नी निलिया र एक वर्षीया छोरी नाओमीको मृत्यु भएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । त्यसपछि सन् १९७५ मा बाइडेनको भेट जिल ज्याकोब्ससँग भयो थियो । आफ्नो पहिलो पतिसँग सम्बन्धविच्छेद गरेकी आफूभन्दा ८ वर्ष कान्छी जिलसँग १९७७ मा बाइडेनले विवाह गरे । त्यसपछि ज्याकोब्सबाट १९८१ मा एक छोरीको जन्म भएको थियो ।

उनका जेठी पत्नीतर्फका छोरा बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राखेर अमेरिकाको ४६ औं राष्टपतीको चुनावमा भारी मत दिएर जीत दिलाएका छन् । प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहजरूपमा घुलमिल हुन सक्ने व्यक्तिका रुपमा परिचित छन् ।

सन् १९८८ मै राष्ट्रपतीय चुनावमा बलियो दाबेदार मानिएका बाइडेन बेलायती नेता नील किनोकको भाषण चोरेको आरोप लागेपछि त्यतिबेला उनी पछि हट्नु परेको थियो । बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए ।

चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए । झण्डै ५० वर्ष लामो समय राजनीतिमा बिताएका बाइडेनले आफ्नो जीवनमा ठुल्ठूला पारिवारिक दुखान्त र राजनीतिक आरोहअवरोह झेलेका छन् ।

बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् । कडा प्रतिस्पर्धामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने क्रममा बाइडेनले केही कीर्तिमान समेत भंग गरेका छन् । ७८ वर्षीय बाइडेन राष्ट्रपति निर्वाचित हुने हालसम्मकै वयोवृद्ध नेता बनेका छन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 8, 2020