टिकाको साइत आज १० बजेर ३५ मिनेटमा, देश तथा विदेशमा हर्षोल्लासपूर्वक टिका लगाइदै

आश्विन २१, काठमाडौं– आज आश्विन शुक्ल दशमी विक्रमसंवत् २०७६ साल आश्विन २१ गते मंगलबार , तदनुसार
ईश्वीसन् २०१९ अक्टोबर ०८ अर्थात हिन्दु धर्म मान्ने नेपालीहरुको महान चाड विजयादशमी ।

दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

आज विजयादशमीको टीकाको शुभसाइत बिहान १०:३५ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दसैंलाई लिइन्छ ।

स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने | दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ।

प्रकाशित मिति October 7, 2019