प्रचण्ड समूहका नेता बालुवाटार नगएपछि विघटित कार्यदलको बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कायम राख्ने गरी सुझाव प्रस्तुत गर्न तीन महिनाअघि बनेको कार्यदल फेरि सक्रिय बनाउने प्रयास भए पनि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहका नेता बालुवाटार नगएपछि विघटित विवाद समाधान कार्यदलको छलफल स्थगित भएको छ।

कार्यदलका ६ सदस्यमध्ये प्रचण्ड समूहका जनार्दन शर्मा र पम्फा भुसाल अनुपस्थित भएपछि छलफल स्थगित भएको हो। शर्मा र भुसाल नआएपछि बालुवाटार पुगेका कार्यदलका अन्य सदस्यहरू अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् ।

महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वमा बनेको कार्यदलले १५ बुँदे सुझाव बुझाएपछि भदौ पहिलो साता नै विघटन भएको थियो ।

उक्त कार्यदलले पेस गरेको सुझाव परिमार्जनसहित भदौ २६ को स्थायी कमिटी बैठकले पारित गरेको थियो । फेरि नेकपाभित्र विवाद चर्किएपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बैठकको निर्णय कार्यान्वयन गर्न दबाब दिन भन्दै महासचिव पौडेलले उक्त कार्यदलका सवै सदस्यहरुलाई प्रधानमन्त्री ओलीसँग आज भेट्ने कार्यक्रम तय गरेका थिए ।

तर, शर्माले स्वास्थ्यमा सुधार नआएको जवाफ दिए भने भुसालले संसदीय समितिको बैठकमा व्यस्त भएको भन्दै बालुवाटार नआउने सन्देश पठाइन् ।

कार्यदलमा शर्मा र भुसाल प्रचण्डका तर्फबाट सदस्य थिए । ओलीका तर्फबाट महासचिव पौडेल र शंकर पोखरेल तथा वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे कार्यदलमा थिए ।

सोमबार प्रधानमन्त्री ओली र मंगलबार प्रचण्डसँग भेटेर बैठकको निर्णय मान्न दबाब दिने भन्दै महासचिव पौडेलले कार्यदलका सदस्यहरुलाई खबर गरेका थिए । बालुवाटारमा शर्मा र भुसाललाई अन्य सदस्यहरुले झण्डै एक घण्टा पर्खिएका थिए ।

कार्यदलका सदस्यका रुपमा बालुवाटार नगएकी भुसालले पार्टी कमिटीको निर्णय कार्यान्वयनबारे दबावको आवश्यकता नरहेको बताइन् । उनले भनिन्, ‘बैठकको निर्णय कसैले मान्दिन भन्न मिल्दैन । फेरि कार्यदलको नाममा साउनतिर र्फकने होइन । अब अगाडि बढ्नुपर्छ ।’

बालुवाटार जानुअघि पौडेल खुमलटार पुगेका थिए । प्रचण्डसँग भेटेर पौडेल बालुवाटार पुगेका हुन् । भेटमा प्रचण्डसँग पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे नै छलफल भएको पौडेलले बताए ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 9, 2020
Loading...