जनताले जे पनि मानिदिनुपर्ने, अनि सरकारले चाहिँ केहीपनि मान्नु नपर्ने हुन्छ ? : सुरेन्द्र पाण्डे

चितवनको राप्ती नगरपालिकामा नेकपा कार्यकर्ता भेलामा बोल्दै गर्दा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध शनिबार नाराबाजी भयो। भेलामा उनले आफ्नो कुरा राख्दैगर्दा प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले नाराबाजी गरेका थिए।

कार्यक्रम सकेर शनिबार नै बास बस्न मलेखु पुगेका पाण्डेलाई आइतबार पोखराका कार्यकर्ताले बोलाए। ‘कुरा के रैछ त हामी पनि बुझौं भनेर बोलाएका हौं,’ नेकपा केन्द्रीय सदस्य सीता ओली गिरीले भनिन्। स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य गिरी दुबै जना माधव नेपाल समूहका हुन्।

मलेखुबाट पोखरा आएका पाण्डेले नेपाल समूहका नेता-कार्यकर्ताको भेलालाई सम्बोधन गरे। केन्द्रीय सदस्य गिरीका अनुसार पाण्डेले एक घण्टा बढी समय बोलेका थिए।

पाण्डे आइतबार पोखरामै छन्। उनले समसामयिक राजनीतिक र नेकपामा जारी विवादका बारेमा जानकारी गराएको गिरीले बताइन्।

अघिल्लो पटक स्थायी कमिटीको बैठकका क्रममा भएको नेकपाको विवाद मिलाउन सचिवालयले बनाएको कार्यदलका सदस्यसमेत रहेका पाण्डेले शनिबार चितवनमा भएको घटनाका बारेमा ब्रिफिङ गरे। त्यसपछि मात्र अहिलेको राजनीति र पार्टीभित्र जारी विवादका बारेमा उनले आफ्नो धारणा राखेका थिए।

पाण्डेले नेकपामा जारी विवाद पदको लडाइँ नभई विधि, पद्धति र सिद्धान्तको लडाइँ भएको जिकिर गरे। ‘विश्व कम्युनिष्ट आन्दोलनमा पार्टीले सरकार चलाउँछ, यहाँ एक जना व्यक्ति नै मै हुँ भनेर अराजकता चलाइराखेको छ,’ प्रधानमन्त्री ओलीतिर इङ्गित गर्दै पाण्डेले भने, ‘आफ्नो अनुकूल हुँदा पार्टीको निर्णय भन्ने, नहुँदा पार्टीको निर्णय, विधि र विधाान मान्नुपर्दैन?’

उनले प्रधानमन्त्री ओलीविरुद्ध प्रश्नैप्रश्न तेर्स्याए। ‘कार्यकर्ताले विधि, विधान मान्नुपर्ने, जनताले संविधान मान्नुपर्ने, सरकारले लकडाउन गर्छ जनताले मानिदिनुपर्ने,’ पाण्डेले प्रश्न सोधे, ‘आफूले चाहिँ केही पनि मान्नु नपर्ने पनि हुन्छ ?’ कम्युनिष्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तमा चल्ने भन्दै उनले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली बैठकमै उपस्थित नभइदिने कुरा राम्रो नभएको बताए।

पार्टीको संगठन बनाउँदा कार्यकर्ता र जनतालाई सिकाउँदै आएको कुरा अहिले प्रधानमन्त्री ओलीले पूरा गर्न नसकेको पाण्डेले बताए। ‘जसलाई जे मन लाग्छ त्यही गरेर कहाँ हुन्छ,’ उनले भने, ‘म ठूलो मान्छे, मै हुँ सबैथोक भने जनताले के बुझ्लान्?’

अघिल्लो पटक नेकपा स्थायी कमिटीमा जारी विवाद समाधान गर्न कार्यदलले बनाएको प्रतिवेदन सर्वसम्मत पारित भएको भन्दै उनले उक्त प्रतिवेदन प्रधानमन्त्रीले मान्नुपर्ने बताए। पार्टी र सरकार विधिले चल्नुपर्ने भन्दै उनले संसारभर नै कम्युनिष्ट पार्टीले सरकार चलाउने दृष्टान्त दिए।

सरकार गठन भएको तीन वर्ष बढी हुँदासमेत जनताको मन छुने काम गर्न नसकेको भन्दै उनले आलोचना गरे। ‘जनतालाई जनस्तरमा छुने खालका, पार्टी स्थापनाकालदेखि भनेका कुरा, घोषणा पत्रमा भनेका कुरा भयो कि भएन त्यो हेर्नुपर्छ,’ उनले भने, ‘जनसरोकारका विषयलाई संवोधन गर्नपर्‍यो नि।’

सरकारले जनताका लागि काम गरेको अनुभव नै नभएको भन्दै उनले अहिले पनि २०५१ सालको ९ महिने सरकारले गरेको काम नै जनतालाई भन्नुपरेको बताए। ‘सरकारले गौरब गर्ने कुरा गरेको छैन, २०५१ सालकै कुरा भन्नुपर्छ,’ उनले भने, ‘हामीले भन्दै आएको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारमा मेरो सरकारले यो काम गर्‍यो भनेर निर्धक्क चौतारमा उभिएर भन्न सक्नुपर्‍यो नि।’

सरकारले नियुक्ति दिँदा पनि कुनै मापदण्ड नबनाएको भन्दै उनले जसलाई मन लाग्छ उसैलाई टिपेर दिने गरेको बताए। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली सच्चिएपछि मात्र अहिले पार्टीमा जारी समस्या समाधान हुने भन्दै उनले जनताले दिएको म्याण्डेट शिरोधार्य गर्नुपर्ने बताए।

‘प्रधानमन्त्री पार्टीले बनाएको हो, समृद्धिका लागि प्रतिपक्षको पनि साथ चाहिन्छ भने पार्टीकै एउटा पक्षलाई निषेध गरेर अर्कालाई टपक्क टिपेर नियुक्त गर्नु गलत हो,’ उनले भने, ‘सरकार पार्टीले चलाउने हो, व्यक्तिले चलाउने होइन, व्यक्तिको लहडामा होइन, सामूहिकतामा चल्नुपर्छ प्रधानमन्त्री ।’

प्रधानमन्त्री ओली पक्षले जनताको बहुदलीय जनवाद भन्ने तर बोल्नसमेत नदिएको पाण्डेले बताए। ‘हिजो मात्र मलाई बोल्न दिइएन,’ पाण्डेले भने, ‘लोकतन्त्रमा बोल्न नपाइने हो भने जिन्दगीभर जेल किन बसेको?, किन लोकतन्त्र ल्याएको ?’ पार्टी र सरकारलाई अराजक तरिकाले चल्न नदिने भन्दै उनले कम्युनिष्ट पार्टी चल्ने विधि के हो त्यही अनुसार चल्यो भने मात्र अहिलेको समस्या समाधान हुने बताए।

पोखरामा भएको माधव नेपाल पक्षको भेलामा ३०-४० जना कार्यकर्ता सहभागी भएको केन्द्रीय सदस्य गिरीले बताइन्। भेलामा प्रचण्ड पक्षका कार्यकर्तालाई भने सहभागी गराइएको थिएन। तस्बिर / सेतोपाटी

प्रकाशित मिति November 22, 2020
Loading...