‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ प्रमलाई ट्रान्सपरेन्सीको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

काठमाडौं, मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो आग्रह गरेको हो।

‘वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरिआएको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको छ,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पद बनेको समेत कांग्रेसको भनाइ छ।

‘एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउंछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीलाई सो प्रतिवेदन पढ्न आग्रह छ।’

ट्रान्सपरेन्सी इन्टरनेनलले हालै गरेको एक अध्ययनमा नेपालका प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीले भ्रष्टाचार गर्ने गरेको धेरैजसो नेपालीले प्रतिक्रिया दिएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति November 28, 2020