६ वटा जहाज थप्ने नेपाल एयरलाइन्सको योजना, १० नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले थप १० वटा नयाँ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै बजार विस्तारका लागि ६ वटा नयाँ जहाज थप्ने तयारी गरेको छ।

केही महिना अगाडि मात्रै निगम महाप्रबन्धक भएका डिमप्रकाश पौडेलले नेपाल एयरलाइन्सको बजार विस्तार गर्दै प्रतिस्पर्धी र ‘वाह! नेपाल एयरलाइन्स’ बनाउने भन्दै व्यवसायिक योजना ल्याएका छन्। उनले ल्याएका व्यवसायिक योजनामा अन्तर्राष्ट्रिय उडानको बजार विस्तारमा थप १० वटा नयाँ गन्तव्यका उडान गर्ने र २०२४ भित्र निगमलाई नाफामा लैजान उल्लेख छ।

महाप्रबन्धक पौडेलले जहाज थप्ने गरी ल्याएको व्यवसायी योजना निगम सञ्चालक बोर्डमा छलफलसमेत भइसकेको छ। बोर्डमा छलफल भएको व्यवसायी योजना सर्वसहमत रूपमा पारित भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको निगम सञ्चालक अच्युतराज पहाडीले जानकारी दिए।

उनका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा एयरबस-३२० प्रकृतिका र २ वटा ए-३३० वाइडबडी जहाज थप्ने योजनामा उल्लेख छ। नयाँ जहाज थप भएपछि निगमले चीन, दक्षिण कोरिया, साउदी अरब, इन्डोनेसिया, अष्ट्रेलियालगायत युरोपेली देशको जर्मनीदेखि लन्डनसम्मका १० नयाँ गन्तव्यका उडान गर्ने लक्ष्य लिइएको छ।                     

निगमले अहिले ४ वटा (२ वटा ए-३२० र २ वटा ए-३३० जहाजमार्फत्) १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ। तर, पछिल्लो समय यात्रु अभावका कारण नेपाल एयरलाइन्सले २ वटा वाइडबडी भएपनि सातामा जापानको नारितामा एक उडान मात्र गर्दै आएको छ। निगमले जापानको नारिता, जापानको ओसाका (अहिले उडान बन्द), मलेसियाको क्वालालम्पुर, थाइल्यान्ड, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), कतारको दोहा, र भारतको दिल्ली, मुम्बई र बैंलोरमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

निगमले मन्त्रालयमा पठाएको व्यवसायिक योजनामा यी गन्तव्यसहित थप नयाँ गन्तव्यमा २०२४ भित्रै उडान सुरु गर्दै अहिले घाटामा रहेको निगमलाई नाफामा लैजान लक्ष्य लिएको छ।

आन्तरिक उडानका लागि पनि ६ जहाज

यसैगरी निगमले आन्तरिक उडानमा गुमेको साख फर्काउँदै आक्रामक बजार विस्तारका लागि पनि ६ वटा नयाँ जहाज किन्ने लक्ष्य लिएको छ। जसमा दुर्गगका पहाडी जिल्लाको विमानस्थलमा उडान गर्ने सक्ने ४ वटा साना प्रकृतिका र सुगम तथा तराईका जिल्लामा उडान गर्न सक्ने २ वटा जहाज खरिद गर्ने लक्ष्यसहित व्यवसायिक योजना ल्याएको छ।

निगमले आन्तरिक उडानमा प्रयोग भएका ६ वटा चिनियाँ जहाजको उडान बन्द गरिसकेको छ। अहिले ३ वटा ट्विनअटर जहाज भएपनि निमगले २ वटा ट्विनअटर जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ। आन्तरिक उडानमा निगमले काठमाडौंबाहिर पोखरा, विराटनगर, नेपालगञ्ज र सुर्खेतलाई आधार बनाएर उडान गर्ने लक्ष्य राखेको छ।

निगमको ऋण बढ्दै

नेपाल वायुसेवा निगमको आम्दानी घट्दै जाँदा दिनानुदिन ऋण भने बढी रहेको छ। निगमले विभिन्न समयमा जहाज खरिदका लागि लिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जाको पछिल्लो ५ किस्ता तिर्न सकेको छैन।

निगमका ४ वटा जहाज किन्दा लिएको ब्याज मात्रै ४ अर्ब ७१ करोड ८ लाख ६ हजार ३ सय २४ रुपैयाँ तिर्न बाँकी छ। ४ वटा जहाजको तिर्नुपर्ने ऋण मात्रै निगमको ३३ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बाँकी छ। दुई थान ३२० जहाजको ९ अर्ब ९८ करोड ११ लाख र दुई थान ३३० जहाज किन्दा लिएको २३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ ऋण छ।

निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग-३३० जहाजका लागि १२–१२ अर्ब ऋण लिएको थियो। त्यस्तै, ०७१ मा खरिद गरिएको ३२० जहाजका लागि सञ्चय कोषसँग १० अर्ब ऋण लिएको थियो। यसरी ऋणको भार बढी रहेको निगमको ऋण मात्रै बढेर ४५ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ पुगेको छ। तर, निगमको सम्पत्ति भने ५४ अर्ब १६ करोड ८६ लाख ८० हजार मूल्यांकन भएको छ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 10, 2020