कतारपछि महत्त्वाकांक्षी योजनामा नेपाललाई फकाउँदै साउदी, नेपालले कसको समर्थन गर्ला ?

काठमाडौँ । साउदी अरेबियाले सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने अवसर पायो भने नेपालजस्तो देशलाई अत्यधिक फाइदा पुग्ने महत्त्वाकांक्षी योजना अगाडि सारेको छ ।

यो हो, अबको १० वर्षलाई ध्यानमा राखेर ‘स्पोर्टस् एकेडेमी’ र ‘एसियन स्पोर्टस् कन्फेडेरसन’ स्थापना गर्ने । विशेषतः एकेडेमीको योजना लोभिने खालेको छ । त्यसअनुसार एसियाका सबै देशका खेलाडीले त्यसमा अभ्यास र प्रशिक्षणको मौका पाउनेछन् । अनि प्रतियोगिता सुरु हुन ठीकअगाडि खेलाडी आफ्नो सम्भावित प्रदर्शनको उत्कृष्ट मोडमा हुनेछ । त्यो पनि ओलम्पिक बराबरमा ।

साउदी अरेबियाले अगाडि सारेको नारा पनि उत्तिकै गज्जब छ । यसले भन्छ, ‘उपस्थिति, सहभागिता र प्रसिद्धि’ । वास्तवमै पूरा योजना कस्तो छ त ? त्यसको कम्तीमा छोटकारीमा जानकारी पाउने अवसर पाए, नेपाल ओलम्पिक कमिटीले । कमिटीको सातदोबाटोस्थिति कार्यालयमा शनिबार नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवे आइपुगे र उनले दुई घण्टा बराबर कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य र महासचिव नीलेन्द्र श्रेष्ठसँग कुराकानी गरे ।                             

यसअघि साउदी अरेबियाको ओलम्पिक टोली नै नेपाल आउने तयजस्तै भएको थियो, तर अन्तिम अवस्थामा मिलेन । नत्र साउदी राजपरिवारका दुई सदस्यसम्मिलित ओलम्पिक टोली नै सातदोबोटो पुग्ने थियो, जसरी यसअघि कतारको ओलम्पिक टोली आफ्नो निजी विमानमा एक दिनकै लागि भए पनि काठमाडौं आएका थिए । प्राविधिक कारणले त्यो सम्भव भएन ।

तर साउदी ओलम्पिक कमिटीको सन्देश बोकेर राजदूत आरवे सातदोबोटोस्थित एनओसी मुख्यालय पुगे । त्यस क्रममा उनले नेपाली खेलकुदका लागि निकै फाइदा हुने प्रस्ताव नै अगाडि सारेका छन् । त्यसको बदलामा नेपालको सहयोग तथा समर्थन खोजेका छन्, त्यस सन् २०३० को एसियाली आयोजनाको मतदानमा आफूलाई समर्थन गर्न ।

आयोजनाको अधिकार दौडमा रहेको त रियाद र दोहा नै हो । अर्थात दुई छिमेकी देशका राजधानी । डिसेम्बर १६ मा एसियाली ओलम्पिक कमिटीको साधारणसभामा मतदान हुनेछ । दुईमध्ये एक सहरले त्यस एसियाली खेलकुद आयोजनाको अवसर पाउने छ । त्यसको ४,५ दिन अगाडि भने खेलकुद कूटनीति आफ्नो चरम उत्कर्षमा पुगेको छ । कतारमात्र होइन, साउदी अरेबिया पनि नेपाललाई फकाउन चाहन्छ, नेपाललाई आफ्नो पक्षमा पार्न चाहन्छ ।                     

अब मूल प्रश्न नेपालले कसको समर्थन गर्नेछ त ? वा भनौं, नेपालले कसको पक्ष लिँदा फाइदा हुन्छ त ? अध्यक्ष श्रेष्ठसँग त्यसको पनि कूटनीतिक उत्तरमात्र छ । उनका अनुसार भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि कुराकानी भएको छ । उनी मान्छन्, साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा लगभग उस्तै छ, तर केही राम्रो भने साउदीकै हो ।

श्रेष्ठकै भाषामा भन्दा ‘साउदीले सन् २०३० को एसियाली खेलकुदको आयोजना अवसर पायो भने नेपालजस्तो देशले प्रतियोगितामा भाग लिँदा भ्रमणका क्रममा जति खर्च हुन्छ, त्यसमध्ये अधिकांश उसले नै बेहोर्न तयार छ ।’ अझ सहयोगको यो क्षेत्र अझ ठूलो हुनसक्छ, नेपालका लागि दीर्घकालीन फाइदा हुने सहयोगसमेत हुनसक्छ । त्यसमाथि ‘स्पोर्ट्स एकेडेमी’ को चर्चा आफ्नै ठाउँमा छ ।

साउदीले यो मौका साँच्चै पायो भने यसको स्तर ओलम्पिक सरह नै हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार मस्कटमा हुने साधारणसभाका बेला दुवै देशका ओलम्पिक कमिटीसँग थप छलफल हुनेछ । त्यसपछि मात्र नेपालले कसलाई मतदान गर्ने हो भनेर अन्तिम निर्णय गर्नेछ । उनी भन्छन्, यो निर्णय नेपाली खेलकुद र खेलाडीको हित तथा स्वार्थ मुख्य आधार बनाएर नै हुनेछ ।

साउदी अरेबियाका ओलम्पिक पदाधिकारी सातदोबाटोस्थित एनओसी मुख्यालयमा । तस्बिर : कान्तिपुर

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 13, 2020