सिन्धुली–तीनपाटन सडक पक्की गरिने

सिन्धुली, मंसिर २९ । तीनपाटनहुँदै सिन्धुलीमाढीबाट उदयपुरको कटारीसम्मको सडकलाई पक्कि गरिने भएको छ । बागमती प्रदेश सरकारको बजेटमा सो सडक पक्की गर्न लागिएको हो । बुद्धचोकबाट जिर्गा खोलासम्मको करिव १५ किलोमिटर सडक पहिलो चरणमा पक्की गरिने कार्यक्रम रहेको छ ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले पहिलोचरणको पक्की कार्यको आइतबार शिलान्यास गर्नुभयो । उक्त सडकको ठेक्का आशिष डिएस जेभि हेटौडाले पाएको छ । बुद्धचोकबाट जिर्गासम्मको सडक जम्मा १४ किलोमटर ५६० मिटर रहेको छ ।

सडक १२ मिटर चौडाईको हुनेछ । नालाको चौडाई १ दसमलब २ मिटर रहने जनाइएको छ । ३४ करोड, ४० लाख ५८ हजार ७५७ रूपियाँ लागतमा निर्माण हुने पहिलो चरणको पक्की कार्यको ठेक्का सम्झौता गत असार ३ गते भएको थियो । सो सडक २०७९ असार २५ गतेसम्म सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले पक्की सडक सम्झौता भएकै समयमा निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीसँग अनुरोध गर्नुहुँदै सडक निर्माणका लागि आवश्यक सामाग्री गुणस्तरहिन पाइएमा बजेट रोक्का गरिने समेत चे तावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एवं नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन)ले यो सडक निर्माण भएपछि पूर्वी सिन्धुलीका जनतालाई आवतजावतसँगै उत्पादन भएका कृषि सामाग्रीको बजारीकरणमा समेत सहज हुने बताए। उनले सिन्धुलीमाढी-भिमस्थान-चकमके-उदयपुर-कटारी दोस्रो खण्डको सडक निर्माणका लागि डिपिआर निर्माणको काम भइरहेकाले त्यो सडक निर्माणका लागि पनि बजेट उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे।

बागमती प्रदेशसभा सदस्य विनोद खड्काले आफ्नो निर्वाचन क्षेत्रमा जनताको आवश्यकतालाई हेरेर सडक, बिजुली खानेपानी लगायत विकास निर्माणको कामहरू धमाधम भइरहेको बताए।

प्रदेशसभा सदस्य बुद्धिमान माझीले गुणस्तरीय सडक निर्माण गर्नका लागि स्थानिय जनप्रतिनिधि, स्थानिय नागरिक, बुद्धिजीवी लगायत सरोकारवाला निकायले निगरानी र खबरदारी गर्नुपर्ने बताए।

कच्ची सडक खुलेको करिव २० वर्षपछि पक्की हुने खवरले स्थानीयवासीमा खुशी छाएको छ । तिनपाटनसम्म करिव दुई दशक अघि नै सडक पुगेको थियो । यद्यपि, कच्ची सडकका कारण जनताले निकै कष्ट भोग्दै आएका छन् ।

पुर्वाधार विकास कार्यक्रम रामेछापको आयोजनामा सम्पन्न सडक शिलान्यास कार्यक्रमको अध्यक्षता कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा लगायतको उपस्थिति रहेको थियो।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 14, 2020