कतारले साउदी अरेबियालाई पछी पार्दै पायो एसियाली खेलकुद आयोजना गर्ने अधिकार

एजेन्सी : कतारले सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने अधिकार पाएको छ । ओमानको मस्कटमा भएको एसियन ओलम्पिक परिषद् ‘ओसीए’को साधारण सभाले कतारलाई मतदान मार्फत आयोजनाको जिम्मेवारी दिएको हो ।

ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका हुन् । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एसियन गेम्सको जिम्मा पाएको हो ।

कतार र साउदी अरेबियाबीच चलिरहेको राजनीतिक र कूटनीतिक तनावबीच दोहाले सफलता प्राप्त गरेको छ । तर, यो साउदीको हार पनि रहेन । किनभने सन् २०३४ को एसियाली खेलकुद भने साउदीको राजधानी रियादमा हुनेछ । ओसीएका अध्यक्ष शेख अहमद अल फायद अल सवाले मध्यपूर्वका दुई देशबीचको चर्को प्रतिस्पर्धासामु ‘बीच’ को बाटो निकालेका थिए, दुवै विजयी हुने, कोही पनि पराजित नहुने । उनले मतदानको अघिल्लो दिन नै यसलाई लिएर प्रयास हुने बताएका थिए । नभन्दै त्यस्तै भयो ।

मतदानमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भाग लिएका थिए । अध्यक्ष श्रेष्ठले कुराकानीका क्रममा मतदानमा जसले सबैभन्दा बढी मत ल्याउँछ, उसले सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने र दोस्रो हुनेले त्यसको चार वर्षपछिको प्रतियोगिता गर्ने निर्णय भएको बताए । त्यही सूत्रका आधारमा भएको मतदानमा आखिर जित दोहाकै रह्यो ।

सन् २००६ मा दोहाले पहिलोपल्ट एसियाली खेलकुद आयोजना गरेको थियो । त्यसयता उनले पूरा देशलाई विश्व खेलकुदको केन्द्र बनाएको छ । दोहोलाई तकतारले ‘स्पोर्टस सिटी’ बनाएको छ । त्यहाँ विश्वस्तरीय एकसेएक खेल सुविधा उपलब्ध छन् । यो नै दोहाको जितको खास कारण रह्यो । साउदीले भने अहिलेसम्म ओसीएअन्तर्गतको धेरै खेल समावेश हुने ठूलो महोत्सवको आयोजना गरेको छैन ।

कतारको विश्व खेलकुदमा प्रगति देखेर साउदीले पनि त्यस्तै बाटो अपनाएको थियो । अब साउदीसामु १४ वर्षपछि एसियाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव आयोजना गर्ने अवसर हुनेछ । यसको अर्थ एसियाली खेलकुदका दुई संस्करण मध्यपूर्वमा हुने पक्का भएको छ ।

यस्तोमा अब सन् २०२२ को संस्करण चीनको होङछोउ तथा सन् २०२६ को संस्करण जापानको आइची-नोगायामा भएयता प्रतियोगिता मध्यपूर्वतर्फ मोडिने छ ।

कुवेती राजपरिवारको कतार र साउदी दुवै राजपरिवारको पारिवारिक सम्बन्ध रहेको छ । त्यसैले त्यही देशका शेख अहमदले दुवै खुसी हुने, दुवै निराश पनि हुनु नपर्ने सूत्र निकालेको मानिन्छ ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 17, 2020