अध्यादेश फिर्ता नलिई प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक, कांग्रेस सहभागी नहुने

काठमाडौं, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ साढे ५ मा संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

अध्यादेश फिर्ता नहुँदै बैठक बोलाइएकाले कांग्रेस सहभागी नहुने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। बुधबार नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलमा संवैधानिक परिषद्सम्बन्धी कार्यविधि फिर्ता लिने सहमति भएको थियो।

तर अध्यादेश फिर्ता नगरी परिषद् बैठक बोलाइएको छ। अध्यादेशअनुसार बैठक बस्नका लागि अध्यक्षसहित दुई सदस्य भए पुग्छ। प्रधानन्यायधी चोलेन्द्र शम्सेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनामात्रै सहभागी भएपनि बैठक बस्न सक्छ।

सभामुख अग्निप्रसाद सापकोटालाई भने बैठकबारे जानकारी नआएको बुझिएको छ। सभामुख सचिवालयका श्रीधर न्यौपानेले बैठकबारे जानकारी नभएको बताएका हुन्।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 17, 2020