तीन जना चढेको मोटरसाइकल सुनकोशीमा खस्दा एकको मृत्यु

सुनकोशी, सिन्धुली । विपी राजमार्गको झाँगाझोली गेटनिर मोटरसाइकलसहित दुई जना यात्रु उछिट्टिएर सुनकोशीमा खस्दा एक जनाको निधन भएको छ । झाँगाझोलीमा तेल हालेर फर्केको मोटरसाइकलमा तीन जना यात्रु चढेका थिए । सबैभन्दा पछाडिको यात्रु उछिट्टिएर सडकमै खसेको र चालकसहित बीचमा बसेका यात्रु मोटरसाइकलसहित करिव दुई सय मिटर तल सुनकोशीको किनारमा पछारिएका थिए ।


स्थानीय धनबहादुर लामाका अनुसार, मृत्युहुनेमा सुनकोशी गाउँपालिका वडा नम्बर १ भूत्याटारका गुञ्जमानका छोरा १९ वर्षीय धनध्वज तामाङ रहेका छन् । उपचारका लागि धुलिखेल लैजादै गर्दा बाटोमै तामाङको मृत्यु भएको हो । घटनामा परी घाइते भएका तिमाल गाउँपालिका २ का २६ वर्षीय नेमा तामाङ र सुनकोशी गाउँपालिका वडा नम्बर १ भूत्याटारका १८ वर्षीय मानध्वज तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दशैंमा टिका लगाउन ससुराल आएका नेमा मोटरसाइकलमा तेल राख्न सालाहरुसहित झाँगाझोली पुगेका थिए । फर्कने क्रममा सो घटना भएको जनाइएको छ । मोटरसाइकल सुनकोशी किनारमै रहेको छ ।

पीडित पक्षले बाठमाडौँतर्फबाट पूर्व गइरहेको बोलेरोको ठक्करबाट मोटरसाइलक सुनकोशीमा खसेको आरोप लगाएको छ । स्थानीय तथा प्रत्यक्षदर्शीको भनाई अनुसार निकै तीब्र गतिमा रहेको मोटरसाइकल एक्कासी सुनकोशीमा खसेको थियो।

प्रकाशित मिति October 12, 2019