५५ वर्ष पूरानो काठमाडौंको पाँचतारे होटल अन्नपूर्ण बन्द, कर्मचारीले सबै भुक्तानी पाउने

काठमाडौं, पुस ५ । पाँचतारे स्तरको होटल अन्नपूर्ण बन्द भएको छ । कोभिड–१९ को महामारीसँगै होटल क्षेत्रमा आएको मन्दीका कारण सञ्चालन खर्च धान्न सक्ने अवस्था नभएपछि बन्द गरिएको हो । होटलकी कार्यकारी अध्यक्ष सिर्जना राणाले सन् २०२१ भरका लागि होटल बन्द गर्ने निर्णय गरेको बताइन् ।

उनले आउँदो वर्ष समेत विदेशी पर्यटक उल्लेख्य रुपमा आउने सम्भावना नदेखिएका कारण तत्कालका लागि होटल नखोल्ने निर्णय गरेको बताइन् । अध्ययन गरेर अर्को वर्षदेखि होटल खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय गर्ने उनको भनाइ छ ।

होटल अन्नपूर्ण सन् १९६५ देखि सञ्चालनमा आएको हो । काठमाडौंको मुटु दरबारमार्गको ५.५ एकड क्षेत्रफलमा फैलिएको यस होटलमा ३ सय ५० भन्दा बढी कर्मचारी छन् । ती सबैलाई नियमानुसार पारिश्रमिक र सुविधा दिएर बिदाई गर्ने अध्यक्ष राणाले बताइन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 20, 2020