बालुवाटार बैठकको कुनै वैधानिकता छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको केन्द्रीय कमिटी बैठकको कुनै वैधानिकता नभएको बताएका छन्।

मंगलबार बबरमहलको कार्की ब्यांकेटमा आयोजिक प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

‘केही नेताहरूले बालुवाटारमा पनि भेला गरेको भनेका छन्। तर त्यस्तो बैठकको कुनै वैधानिकता छैन,’ उनले भने। बैठकमा ३ सय १० जना केन्द्रीय सदस्य उपस्थित भएका छन्।

प्रचण्ड-नेपाल समूहले धेरै प्रयास गर्दा पनि गृहमन्त्री रामबहादुर थापा बादल र वामदेव गौतम भने सहभागी भएनन्। उनीहरू दुवै जनाले कुनै पनि पक्षका बैठकमा तत्काल नजाने बताउँदै आएका छन्। यी दुवै नेता अनुपस्थित भएपछि उनीहरूका पक्षका नेताहरू भने बैठकमा उपस्थित भएका छैनन्।

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने विषयमा छलफल गरिरहेको छ। ओलीलाई कारबाही गर्दै माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय गर्ने बताइएको छ।

नेकपाको केन्द्रीय कमिटीमा ४४७ जना केन्द्रीय कमिटी सदस्य हुने व्यवस्था छ।

उता केपी शर्मा ओली पक्षले पनि केन्द्रीय कमिटीको बैठकबाट ७५२ जना केन्द्रीय सदस्य थप गर्दै ११ सय ९९ जना पुर्‍याएको छ। तर प्रचण्ड-नेपाल समूहले भने केन्द्रीय सदस्यको संख्या थप गरेको छैन।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 22, 2020