ओलीलाई अध्यक्ष पदबाट हटाइएको घोषणा

काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ ।

प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको नेता भीम रावलले बताए ।

बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 22, 2020