बेलायत-नेपाल हवाई उडानमा रोक लगाउने निर्णय

काठमाडौं, पुस ७ । विश्वको विभिन्न देशले बेलायतको हवाई उडानलाई रोक लगाइरहेको बेला नेपालले पनि बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो निर्देशन दिएको छ । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् ।

यस्तो निर्णय बुधबार राति १२ बजेबाट लागू हुने भएको छ । अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायमै रहने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लागेको हो ।

यससँगै अब नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लागेको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट समेत उडान बन्द हुनेछन् ।

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 22, 2020