गाउँ नै विस्थापित गर्ने एउटा ढुङ्गा – नेपाली सेनाले ५ दिन लगाएर फुटायो

असोज २८, सिन्धुली– सिङ्गो गाउँलाई विस्थापित गर्ने एउटा ढुङ्गोलाई नेपाली सेनाले सुरक्षित रुपमा विस्फोट गराइ फुटाएको छ ।सिन्धुलीको सुनकोशी गाउँपालिका–१ गणेशस्थानको दक्षिणतर्फ जंगलभित्र रहेको एउटा ढुङ्गो खस्ने डरले २३ घरधुरीको गाउँ नै विस्थापित भएको थियो ।

ढुङ्गोका कारण गाउँ नै विस्थापित भएको खबर प्राप्त भएपछि नेपाली सेनाको बर्द बहादुर गण, कालीसिद्धी गण र नम्बर १ विपद व्यवस्थापन गणबाट ढुङ्गो फुटाउन सैनिक टोली परिचालन गरिएको थियो ।

सेनाको टोलीले ५ दिन लगाएर सुरक्षित रुपमा विस्फोटन गराइ ढुङ्गो फुटाएको हो ।सेनाका अनुसार उक्त ढुङ्गो १८ फिट उचाइ, १५ फिट चौडाइ र ६० फिट गोलाइको थियो ।वातावरणीय प्रभाव मूल्याङ्कन गरी असोज १४ गतेदेखि ढुङ्गो फुटाउन शुरु गरेको थियो । ५ दिन पछि असोज १९ गते ढुङ्गो फुटाउने काम सकिएको सेनाले जनाएको छ ।

यसबारे सुरुवाती समाचार एस्तो थियो…

दुम्जा । वस्तीमाथिको ढुङ्गो खस्ने खतरा बढेपछि नेपाली सेनाको टोलीले पाँच दिनदेखि ढुङ्गा फुटाउने प्रयास गरिरहेको छ । सुनकोशी गाउँपालिका वडा नम्बर १ बसेरी नजिकैको गणेस्थानमाथिको ढुंगा वर्षापछि केही धस्सिएपछि वस्ती खतरामा परेको थियो । स्थानीय दुधराज पुलामीले सामाजिक सञ्जालमार्फत् ढुङ्गा खस्ने अवस्थामा रहेकाले वस्ती जोखिममा परेको सार्वजनिक गरेपछि गाउँपालिकाले यसबारे चासो दिएको थियो । वस्ती जोखिममा परेको बारे वडा अध्यक्ष विमलमान मोक्तानलाई जानकारी गराएको भए पनि खासै चासो नदिएको स्थानीय दुधराज पुलामीले बताउनुभयो ।

सुनकोशी गाउँपालिका अध्यक्ष दीर्वसिं मुक्तानका अनुसार, वस्ती खतरामा परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको पहलमा नेपाली सेनासँग सम्पर्क राखी खस्न लागेको ढुङ्गालाई ब्लास्ट गरी ध्वस्त पार्ने कार्य जारी रहेको छ ।


सो कार्यमा नेपाली सेनाको सिन्धुली ठुलीटारस्थित वर्दबहादुर गण र ९ नम्बर बाहिनीका प्राविधिकहरु खटिएका छन् । क्याप्टेन सन्तोष पाण्डेको नेतृत्वमा नेपाली सेनाको जम्मा ३२ जनाको टोलीले ढुङ्गा फोर्ने कार्य भइरहेको जनाइएको छ । गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले वस्ती जोखिममा परेको बारे गुनासो आएको तर वडाले सहयोग नगरेको गुनासो आएको भनेर वडा अध्यक्षलाई जानकारी गराउनुभएको थियो ।

प्राविधिक तर्फ क्याप्टेन ज्ञानेन्द्र जैसीको नेतृत्वमा ढुङ्गालाई ध्वस्त पार्ने काम भइरहेको छ । वस्तीमाथिको भीरमा अड्केर बसेको ढुङ्गा जुनसुकै बेला झर्नसक्ने खतरा रहेको थियो । गए वर्षामा ढुङ्गा धस्सिएपछि वस्तीका मान्छे रातभर जगराम बस्दैआएका थिए । स्थानीय दुधराज पुलामीका अनुसार दुई दिन जतिमा ढुङ्गा ध्वस्त हुन्छ । सो वर्दबहादुर गणका गणपति राजीव थापा र नौ नम्बर बाहिनीका बाहिनीपति गणेशकुमार श्रेष्ठ शुक्रबार आएर ढुङ्गो फोर्ने कार्यमा भइरहेको प्रगतिबारे जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति October 15, 2019