प्रदेशमा चुनाव हारेका दावा लामा बने मन्त्री

काठमाडौं, पुष १० । सिन्धुपाल्चोक प्रदेशसभामा पराजित भएका दावा लामा (तामाङ) शुक्रबार बिहानै रामबहादुर थापा बादलको निवास पुगेका थिए। नेकपाका केन्द्रीय सदस्य रहेका दावाले बादललाई भेट गर्न केही पूर्व माओवादी नेतासमेत लिएर पुगेका थिए।

केपी शर्मा ओली पक्षमा बिहीबार मात्रै खुलेका पूर्वमाओवादी नेता बादललाई भेटपछि दावाको नामका अघि मन्त्री पद थपिएको छ। संविधानसभाका सदस्य राजकुमार श्रेष्ठलगायत सिन्धुपाल्चोकका नेकपा नेताहरूसहित बादलसँग दावाले भेटघाट गरेका थिए। बादलसँग भेट गर्नुअघि दावा कुनै पनि पक्षमा खुलेका थिएनन्।

प्रतिनिधिसभाका सांसद रहेका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा पुगेका थिए। तर उनी माधव नेपाल–पुष्पकमल दाहाल पक्षमा आएका थिए।

तामाङ प्रचण्ड-नेपाल खेमामा फर्केपछि बादलसँग निकटता बढाउन पूर्वसांसद दावा पुगेका थिए। २०६४ साल पहिलो (संविधान सभा)मा सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट लामा सांसद निर्वाचन भएका थिए। २०७० साल मंसिर ४ मा भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रमा पूर्व माओवादीवाट उम्मेदवार भएपनि पराजित भएका थिए।

पछिल्लो निर्वाचनमा उनी प्रतिनिधिसभामा टिकट पाउन सकेनन्। प्रतिनिधिसभा तर्फ शेरबहादुर तामाङले टिकट पाएपछि उनी प्रदेशमा परे। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को ‘ख’मा उनी प्रदेशसभाको उम्मेदवार भएका थिए। उनीसँग प्रतिस्पर्धी थिए नेपाली कांग्रेसका निमा लामा।

राप्रपा र नेपाली कांग्रेस एउटै प्यानलमा थिए भने माओवादी र एमाले गठबन्धन बनाएर निर्वाचनमा लडेका थिए। मतगणनाको सुरुदेखि नै झिनो मतान्तरले अघि रहेका कांग्रेसका निमा लामाले अन्तिम समयसम्म पनि अग्रता कायम गर्दै १९७ मतको झिनो अन्तरले माओवादी केन्द्रका दावा तामाङलाई पराजित गरेका थिए। नेपाललाइभबाट ।

प्रकाशित मिति December 25, 2020