छक्याउँदै छक्क बहादुर, ओली छाडेर प्रचण्ड-नेपाल गुटतिर

काठमाडौं । हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले ओली समूहको नेकपाबाट बाहिरिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै लामाले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेको बताएका छन्।

लामाले विज्ञप्तिमा हुम्लावासीको सल्लाह‚ सुझाव र भावनालाई सम्बोधन गर्दै र जनमतको कदर गर्दै सो पद अस्वीकार भएको उल्लेख गरेका छन्। उनले आफूलाई केन्द्रीय सदस्यमा मनोनय गरेकामा ओली पक्षलाई धन्यवाद दिँदै आफूलाई अस्वीकार्य भएको जानकारी गराएका हुन्।

‘मलाई हुम्लावासी आदरणीय जनताले २०४८‚ ०७० र ०७४ सालमा दिएको उच्च जनमतलाई उच्च कदर गर्दै आम हुम्लावासी जनता कार्यकर्ताको सल्लाह सुझाव र भावनालाई सम्बोधन गरी नेकपा (ओली नेतृत्व)को केन्द्रीय केन्द्रीय आयोजक सदस्यको पदलाई अस्वीकार गर्दछु ।

विज्ञप्तिमा भनिएको छ‚ ‘नेकपा (प्रचण्ड-नेपाल)को पार्टी संगठनमा यथावत् रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी‚ कार्यकर्ता तथा हुम्लावासी जनतालाई विचलित नभई प्रचण्ड-नेपालको मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एकताबद्ध भएर बस्न अनुरोध गर्दछु।’

काठमाडौंट्वान्टिफोर डट कममा प्रकाशित सामग्रीबारे तपाईसंग कुनै सुझाव, सूचना तथा गुनासो भए हामीलाई kathmandu24online@gmail.com मा पठाउनुहोला ।

प्रकाशित मिति December 26, 2020