प्रधानमन्त्रीले प्रवासी नेपालीसामु यसरी बोले झुट, निर्वाचन आयोगले पार्यो प्रष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ ।

प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका थिए ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए । उनले भने– ‘कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदनपनि फिर्ता हुन्छ ?’ उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने सो थाहा नभएको र आयोगले फिर्ता गर्ने कुरा नभएको उनले बताए ।

उनले भने– ‘भाषणको कुरा सोधेर नी हुन्छ, मानिलिँउ तपाईले हामीलाई अहिले एउटा निवेदन दिनुभयो भने के त्यो फिर्ता हुन्छ ? कहाँ फिर्ता हुन्छ ? आयोगमा आएर दर्ता भएको चिज रहिरहन्छ ।’

निर्वाचन आयोगलाई उल्लेख गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अगाडि भने, ‘उहाँहरूको आधिकारिक पार्टी हामी हौं भन्ने थियो त्यो दाबी अंग र व्यहोरा पनि नपुगेको कानुन पनि उल्लेख नभएको, केही प्रमाण नभएको यस्तो खालको यसको केही अर्थ छैन भनेर फिर्ता पठाइदिनुभयो ।’ उनले निर्वाचन आयोगमा सूर्य र पार्टीको आधिकारिकताका लागि आफूहरू जानुपर्ने आवश्यकता नै नरहेको बताए ।

‘हामी निर्वाचन आयोग गएका छैनौं र जानुपर्ने आवश्यकता पनि छैन । सूर्य चिह्न हाम्रो हो । उहाँहरूले आफूलाई चाहियो भन्नुभएको थियो, त्यो आयोगले खारेज गरिसक्यो । हामीसँगै छ चिह्न, हामीसँगै छ बहुमत किन जानुपर्‍यो ?,’ ओलीको प्रश्न थियो ।

सरकारले घोषणा गरेको निर्वाचनमा जान तयार नभएका दाहाल र नेपाललाई किन निर्वाचन चिह्न चाहियो भनेर पनि प्रश्न गरेका थिए । यसअघि कार्की बैंक्वेटमा भएको सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलामा ओली पक्षका नेताहरू लेखराज भट्ट र कर्ण थापाले सूर्य चुनाव चिह्न कसको पक्षमा जाने भन्ने प्राविधिक र गौण कुरा भएको भन्दै पार्टी निर्माणमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । त्यसले पार्टीमा निराशा ल्याएको भन्दै सूर्य चिह्न छोड्न नहुने ओली पक्षमा दबाब बढेको थियो । त्यसैको झल्को ओली पक्षका प्रवासी नेपाली कार्यकर्ताहरूका अभिव्यक्तिमा पनि देखिन्थ्यो ।

यता दाहाल-नेपाल पक्षले पनि आयोगले त्यस्तो निर्णय गरेको कुरालाई अश्वीकार गरेका छन् ।

नेकपाको दाहाल-नेपाल पक्षबाट निर्वाचन आयोगमा कानुनी कुराहरूको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने प्रधानमन्त्रीको भनाइ झुटो भएको बताएका छन् ।

उनले बिहीबार मात्रै निर्वाचन आयोगले सम्पर्क गर्नुपर्ने नेताहरूको नामावली बुझाएर आफूहरू फर्किएको हुँदा प्रधानमन्त्री ओलीले गलत बोलेको बताए । ‘निर्वाचन आयोगले फिर्ता होइन केही पनि पठाएको छैन । प्रधानमन्त्रीले झुट बोल्नुभयो । हिजै निर्वाचन आयोगमा हामीले अनुसूची १८ अन्तर्गतको विवरण बुझाएका छौं ।

नाम, झन्डा, पदाधिकारीको नामावली फेरबदल भएको भए अपडेट गर्ने भन्ने छ त्यसका लागि हामीले सूचना दिन गएका थियौं । पार्टी अध्यक्षबाट ओलीलाई हटाएर केन्द्रीय सदस्य कायम राख्दै माधवकुमार नेपाललाई अध्यक्ष चुनिएको कुरा अपडेट गरेका छौं,’ उनले भने, ‘हामी सूचना दिएर फर्कियौं । हामी त्यहाँ रातभर बस्ने त कुरा हुँदैन । हामी फर्केकोलाई फर्काएको रूपमा बुझेको भए केही भन्नु छैन ।’

निर्वाचन आयोगले पार्टीको आधिकारिकता लगायतका विषयमा छलफल गर्नुपर्ने भए पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल लगायत ८ जनाको नाम बुझाइएको उनले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड–नेपाल पक्षले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति January 1, 2021