नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्यो

सोल । नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन पाउने भएका छन् । योवर्ष कोरोना महामारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ।

दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ । साथै ८ घन्टा भन्दा बढि काम गरे बापत ‘ओभरटाइम’ र सार्वजानिक बिदाहरुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् ।

त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता हुनेछ ।

गत जुलाईमा तलब निर्धारण समितिले आठौं पटक छलफल गर्दा पनि तलब कति बढाउने भन्ने सहमति नभएपछि नवौं बैठकले बहुमतका आधारमा यो तलब निर्धारण गरेको हो । सो बैठक कामदार पक्षले बहिस्कार गरेको थियो । समितिमा कामदार, व्यवसायी र सरकारी पक्षको ९/९ जना सदस्य रहने व्यवस्था छ ।

व्यवसायीहरुले गत वर्षको तलबमा २.१ प्रतिशत कटौती गरेर ८ हजार ४ सय १० वन बनाउने माग राखेको थिए भने कामदार पक्षले १६.४ प्रतिशत वृद्धि गरेर १० हजार वन बनाउन माग राखेका थिए ।

वृद्धि भएको तलबबाट दक्षिण कोरियामा रहेका ४० लाख कामदारसँगै ३५ हजार भन्दा बढी नेपाली कामदार पनि प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले निर्वाचनका ताका सन् २०२०/२१ सम्म कामदारको तलब प्रतिघन्टा १० हजार कोरियन वन बनाउने जनाएका थिए । तर कोरोना भाइरसको महामारीका कारण यस पटक उल्लेखनीय रुपमा तलब वृद्धि नभएको बताइन्छ ।

सन् २०१८ मा १६.४ र सन् २०१९ मा ११ प्रतिशत तलब बढाएको थियो । साना तथा मझौला व्यवसायीले व्यापक विरोध गरेपछि गत वर्ष २.९ प्रतिशत तलब बढेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति January 1, 2021