‘फेक न्युज’ को सहारामा ओलीले कार्यकर्तालाई दिलाए मनोरञ्जन

काठमाडौं । केही दिनअघि एउटा ‘स्क्रिन सट’ सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। जहाँ भनिएको थियो- ‘ओलीको शरीरमा स्त्री अंग मिसिएको हुँदा दिमागले काम गरेन रावल’। नेकपाका नेता भीम रावललाई जोडेर प्रकाशित सो समाचार झुटो रहेको सार्वजनिक भयो।

सो समाचारबारे ‘नेपाल: तथ्यजाँच’ले सत्यता परीक्षण गरेको थियो। जसअनुसार, पुस १२ गते रावलले धनगढीमा भाषण गर्दाको सन्दर्भलाई लिएर समाचार प्रकाशित भए पनि उनले त्यहाँ गरेको भाषणमा त्यसो नभनिएको उल्लेख थियो। बरु, भिजिटर बढाउनका लागि सो भन्दै नभनेको प्रसंग थपिएको उसको भनाइ थियो।

तर आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै ओलीले यो प्रसंगको चर्चा गरे। ‘एउटा नेताले चर्को भाषण गरेछन्। केपी ओलीले महिलाको किड्नी लाएर दिमागै बिग्रियो भनेछन्’, ओलीले रावलको नाम नलिई भने।

ओलीको भाषण सुरु भएदेखि नै हुटिङ गरिरहेका अखिलका कार्यकर्ताले त्यसलाई निरन्तर राखिरहेका थिए। ताली बजाएर ओलीलाई दिइरहेका थिए। ओलीको भाषणमा सहमति दिइरहेका थिए।

हुटिङ पाएपछि ओली झन् जोसिए र रावलको नाम नलिई व्यंग्य गर्न थाले। भने‚ ‘महिलाको किड्नी लगाउँदा दिमाग बिग्रियो भनेपछि महिलाबाट जन्मिएको त्यो मान्छे पहिलेदेखि नै के होला? म त्यतापट्टि जान चाहन्नँ। महिलामाथिको कत्रो अपमान हो- महिलाको किड्नीमात्रै लगायो भने पनि मान्छे पागल हुन्छ।

त्यो दिन बेलुका श्रीमतिले तिनलाई कसरी खान दिइन् होला अचम्म लाग्छ मलाई। घरमा पुग्दा ढोका खोलेर स्वागत कसरी गरिन् होला, अचम्म लाग्छ। वरिपरि छिमेकका झ्यालबाट हेर्ने दिदिबहिनी महिलाहरुको अगाडि अनुहार कसरी देखाए होलान्। अचम्म लाग्छ।’

प्रकाशित मिति January 4, 2021