पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाडौं : नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

पत्नी सीताको उपचारका लागि दाहाल सोमबार नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट भारत प्रस्थान गरेका हुन् ।

सीताको उपचार मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने बताइएको छ ।

काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले प्रचण्डको परिवार दिल्ली भएर मुम्बई जाने भएका हुन्। यसअघि आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका थिए।

सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेको स्रोतले बतायो।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

प्रकाशित मिति January 4, 2021