साउदीले साढे ३ वर्षपछी कतारमाथिको नाकाबन्दी हटायो

काठमाडौं । साउदी अरबले साढे तीन वर्षअघि कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । कुवेतका विदेशमन्त्री अहमद नासिर मोहम्मद अल सबाहका अनुसार मंगलबारदेखि हुन लागेको गल्फ कोअपरेसन काउन्सिलको शिखर सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरब कतारमाथिको नाकाबन्दी हटाउन तयार भएको हो ।

साउदी अरबका हुने उक्त सम्मेलनमै विवाद समाधान र नाकाबन्दी हटाउने सम्झौतामा हस्ताक्षर हुने एक जना वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । जसमा खाडी क्षेत्रका ६ देशका राष्ट्र प्रमुखको सहभागिता हुनेछ ।

साउदी अरबले आ तंक वादलाई प्रश्रय दिएको आरोप लगाउँदै कतारमाथि साढे ३ वर्षअभि हवाई र स्थल नाकाबन्दी गरेको थियो । साउदीसँगै यूएई, बहराइन र इजिप्टले पनि कतारमाथि नाकाबन्दी लगाएका थिए । तर कतारले भने आफूले आ तंक वादलाई कहिल्यै साथ नदिएको स्पष्ट पार्दै आएको छ ।

कुवेती विदेशमन्त्रीका अनुसार कुवेतका अमिर शेख नवाफको प्रस्तावअनुसार खाडी सम्मेलनको पूर्वसन्ध्यामा साउदी नाकाबन्दी हटाउन तयार भएका हुन् । ‘कुवेती अमिरको प्रस्तावअनुसार साउदीले कतारमाथि लगाएको नाकाबन्दी खोल्न सहमत भएको छ । अब सोमबार साँझबाट आवतजावत खुल्ला भयो,’ विदेशमन्त्री सबाहले सरकारी टेलिभिजनसँगको कुराकानीमा भने ।                                                             

तस्बिर : कुवेतका अमीर शेख नवाफ ।                        कतार सानो खाडी मुलुक भए पनि आर्थिक रुपमा समृद्ध देशका रुपमा आफूलाई उभ्याउन सफल देश हो । त्यसैले पनि अन्य खाडी मुलुक कतारसँगको सम्बन्ध सुमधुर बनाउन चाहेको बीबीसीका रक्षा स‌ंवाददाता फ्र्यांक गार्डनर बताउँछन् ।

कतारमाथिको नाकाबन्दी हटाउन कुवेतको ठूलो भूमिका रहेको उनको विश्लेषण छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन लागेकाले पनि ह्वाइट हाउसले पनि यसमा निकै चासो देखाएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘साढे ३ वर्षको नाकाबन्दी कतारको अर्थव्यवस्था र र खाडीको एकता दुवैका लागि निकै महँगो सावित भयो । छिमेकी मुलुकले पिठ्युँमा छुरा रोपेको कतारी नागरिकले छिट्टै भुल्ने र माफी दिनेवाला छैनन् । ‘गार्डनर साउदीले लगाएको नाकाबन्दीले कतारलाई इरान र टर्कीसँग नजिक्याएको पनि बताउँछन् । टर्की र इरानको साउदीसँग राम्रो सम्बन्ध रहेको छैन ।

प्रकाशित मिति January 5, 2021