जाकार्ताबाट उडेको केहि समयमै सम्पर्कबिहिन श्रीविजयाको जहाज समुद्रमा खसेको आशंका

जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्ताबाट इन्डोनेसियाको पश्चिमी कालिमनाटन प्रान्तको पोन्टायानाकका लागि उडेको श्रीविजयाको जहाज समुद्रमा खसेको आशंका गरिएको छ।

६२ जना यात्रु लिएर शनिबार दिउँसो जाकार्ताबाट उडेको केही समयमै सम्पर्कविहीन भएको जहाज समुद्रमा खसेको हुन सक्ने आशंका गरिएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ।

जाकार्ता विमानस्थलबाट उड्ने बित्तिकै श्रीविजयाको एयरको बोइङ ७३७ जहाज सम्पर्कविहीन भएको थियो। समुद्रमा डुंगा चलाउनेहरूले जहाज पानीमा खसेको र आफूहरूले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन्। यद्यपि हालसम्म जहाजको कुनै पनि भाग फेला परेको छैन।

‘चम्किलो प्रकाशसँगै समुद्रमा झर्‍यो र पानीमा वि स्फोट भयो,’ समुद्रमा माछा मार्ने काम गर्दै आएका सोलिहिनले बिबिसीको इन्डोनेसियाली सेवासँग भनेका छन्, ‘यो हामीबाट निकै नजिकै थियो। मेरो डुंगालाई नै झन्डै भेटेजस्तो लाग्यो।’

इन्डोनेसियाको यातायात मन्त्रालयले भने जहाजको खोजी कार्य जारी रहेको बताएको छ। इन्डोनेसियाको स्थानीय समयअनुसार जहाजसँग १४:४० अन्तिम पटक सम्पर्क भएको थियो। हराइरहेको श्रीविजयाको उक्त जहाज २७ वर्ष पुरानो हो।

उडान सेवाबारे जानकारी दिने फ्लाइट राडार ट्वान्टी-फोर डटकमका अनुसार जहाज एक मिनेटभन्दा कम समयमा नै ३ हजार मिटरभन्दा बढी तल झरेको थियो। जहाजका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति January 9, 2021